राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने
News Desk
Feb-06 तारिख 05:57 बिहान

काठमाडौँ | यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म औपचारिक तथा भव्य कार्यक्रमसहित मनाइने भएको छ। नेपालमा राणाशासनको अन्त्य गर्दै विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा सरकारले फागुन ६, ७ र ८ गते देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले तीन दिने कार्यक्रम तय गर्दै मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्रीको नेतृत्वमा गठित समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, मुख्यसचिव, प्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिवहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहेका छन्। गृह मन्त्रालयका सचिव समितिका सदस्यसचिव तोकिएका छन्।

निर्णयअनुसार तीन दिनसम्म नेपालभर विभिन्न कार्यक्रम आयोजना गरिनेछ भने विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा पनि प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरिनेछ।

मूल समारोह काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिने जनाइएको छ। प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते नेपाली जनताका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका संघर्ष, जनआन्दोलन र बलिदानको प्रतीकका रूपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताइन्।