News Desk
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सवार प्रचार गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोल नजिक आज भएको दुर्घटनामा चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको हो।
प्रत्यक्षदर्शीका अनुसार चुनावी प्रचारका लागि प्रयोग भइरहेको गाडीले सडक छेउमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बालिकालाई तत्काल गौरस्थित अस्पताल लगिएको थियो तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार उक्त गाडीमा रास्वपाका उम्मेदवार सवार थिए। दुर्घटनापछि गाडी चालक घटनास्थलबाट फरार भएको र गाडीलाई भने नियन्त्रणमा लिइएको छ। उम्मेदवारसहित गाडीमा रहेका अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाले गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
घटनाले चुनावी प्रचारका क्रममा सवारी साधनको लापरवाही र सुरक्षा सतर्कतामाथि गम्भीर प्रश्न उठाएको छ।