News Desk
खोटाङ । भारतको मेघालय राज्यमा रहेको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका दुई दाजुभाइको मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाट क्षेत्रमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका २४ वर्षीय सहोदर भाइ सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै ज्यान गएको हो।
स्थानीय स्रोतका अनुसार उनीहरू खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा हुन्। रोजगारीका लागि भारत गएका दाजुभाइ दुर्घटनामा परेपछि परिवार शोकमा डुबेको छ।
सोही घटनामा बराहपोखरी क्षेत्रकै बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ। सात जनाको टोलीमध्ये बराहपोखरी गाउँपालिका वालम्पाका ताराबल मगर भने सकुशल रहेका छन्। विस्फोटपछि ताराबल मगरले नै फोनमार्फत गाउँमा घटनाको जानकारी दिएका थिए।
ताराबल मगरका अनुसार मृतक दाजुभाइको शव घटनास्थलमै रहेको छ र घाइतेहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको छ। परिचित कोही नहुँदा शव व्यवस्थापन र उपचारमा कठिनाइ भइरहेको उनको भनाइ छ।
मृतक तथा घाइतेहरू रोजगारीको सिलसिलामा गत पुस ३ गते घरबाट मेघालय गएको बताइएको छ। मृतकमध्ये पूर्णबहादुर विवाहित थिए भने सुरेन्द्र अविवाहित थिए। डेढ महिना नपुग्दै यस्तो दुर्घटना भएपछि परिवार र गाउँ शोकाकुल बनेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति तथा घाइतेलाई ५० हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने घोषणा गरेका छन्।