News Desk
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य सुरक्षित गर्न जिम्मेवार राजनीतिक पार्टीलाई मतदान गर्नु आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले राजनीतिक स्वार्थका लागि बालबालिकालाई प्रयोग गर्ने गतिविधि केही दलबाट भइरहेको भन्दै त्यसप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जानकारी दिए। साथै उनले विभिन्न राजनीतिक दलबाट विपक्षी उम्मेदवारविरुद्ध घृणा फैलाउने प्रयास बढ्दै गएको भन्दै त्यसप्रति आपत्ति जनाए।
कांग्रेसले निर्वाचनमा सम्पूर्ण शक्ति परिचालन गरेको उल्लेख गर्दै चालिसेले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारे। भ्रम सिर्जना गर्ने गतिविधिको प्रतिवाद गरिने र चुनावी अभियानलाई प्रभावकारी बनाउन डबली कार्यक्रम सञ्चालनको तयारी भइरहेको पनि उनले बताए।
देशभर कांग्रेसप्रतिको विश्वास क्रमशः बढ्दै गएको दाबी गर्दै उनले विगतमा कांग्रेस नेतृत्वका सरकारहरूले देशका लागि महत्वपूर्ण काम सम्पन्न गरेको स्मरण गराए।
प्रवक्ता चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर उम्मेदवार बन्नु कानुनी र मानवअधिकारको दृष्टिले स्वीकार्य भए पनि नैतिक रूपमा उपयुक्त नहुने धारणा समेत राखेका छन्।