News Desk
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ। पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक कुमार रायका अनुसार दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो। रातको समयमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन्। त्यस्तै बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडी पुर्चौडी–७ की वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेर ४० जना घाइते भएका छन्। घाइतेहरूलाई डडेलधुरा अस्पताल, बझाङको देउलेक र धनगढीमा उपचार भइरहेको छ। बस पुर्चौडीबाट बझाङको सुनकुडा जाँदै गरेको र सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।