आचारसंहिता उल्लङ्घन प्रकरणः ३४ मध्ये २४ उम्मेदवारको स्पष्टीकरण प्राप्त
News Desk
Feb-07 तारिख 07:32 बिहान

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा हालसम्म २४ उम्मेदवारले आफ्नो जवाफ बुझाएका छन्। आयोगले कुल ३४ जना राजनीतिक दल तथा सम्बन्धित उम्मेदवारलाई स्पष्टिकरण सोधेकोमा १० जनाबाट भने अझै जवाफ नआएको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्पष्टीकरण माग गरिएका ३४ मध्ये बहुसंख्यक उम्मेदवारले जवाफ पेश गरिसकेका छन् भने बाँकीको प्रतीक्षा भइरहेको छ। आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यसहित आयोगले प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइरहेको छ।

आचारसंहिता पालनालाई सशक्त बनाउन केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालित छन्। जिल्लास्तरमा अनुगमनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन आचारसंहिता २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी तोकिएको छ, जसले आर्थिक विषयबाहेकका अन्य पक्षको अनुगमन गर्ने अधिकार पाएका छन्।

त्यस्तै, आर्थिक विषयको अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृतको रूपमा तोकिएको छ। आयोगका अनुसार छोटो अवधिमै जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गर्ने प्रतिबद्धता सुनिश्चित गर्ने काम प्रभावकारी रूपमा भइरहेको छ।

जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा आवश्यक प्रक्रिया अपनाई कारबाही भइरहेको निर्वाचन आयोगले जनाएको छ।