News Desk
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रका नाकाहरू निर्वाचनभन्दा ४८ घण्टा अगावै बन्द गरिने भएको छ। उक्त निर्णय मोरङको विराटनगरमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको १६औँ डीआईजीस्तरीय समन्वय बैठकले गरेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध आवतजावत नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार रोकथामलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, सीमाक्षेत्रका संवेदनशील तथा सम्भावित नाकाहरू पहिचान गरी जोखिम मूल्याङ्कन गर्ने, शरणार्थी र आप्रवासीको गतिविधिमा निगरानी बढाउने र विभिन्न तहमा नियमित चेकजाँच गर्ने निर्णय गरिएको छ।
आपराधिक समूहद्वारा हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा दुई देशबीचको रेखा मात्र नभई आपसी मित्रताको प्रतीक भएको उल्लेख गर्नुभयो। त्यसैगरी, भारतीय सशस्त्र सीमा बलका डीआईजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमालाई आगामी दिनमा अझ सुरक्षित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समन्वय बैठकमा सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षकहरू अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय सशस्त्र सीमा बलका डीआईजी सरोजकुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिष कुमारको उपस्थिति रहेको थियो।