News Desk
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्थामा कुनै पनि कमजोरी नहोस् भन्ने उद्देश्यले सुरक्षा निकायका प्रमुखहरूलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ।
शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन अवधिभर ‘हाइ अलर्ट’मा रहेर सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका सबै सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिनुभयो।
बैठकमा निर्वाचन तयारीसम्बन्धी विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो। साथै निर्वाचन नजिकिँदै जाँदा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक रणनीति र मार्गनिर्देशनसमेत तय गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृह र रक्षा मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार भइरहेको कार्यान्वयन, जनशक्ति परिचालन र सुरक्षा बन्दोबस्ती योजनाको विस्तृत समीक्षा गरिएको थियो।
बैठकले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने तथा निर्वाचन अवधिमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ।
यसका अतिरिक्त निर्वाचनमा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा व्यवस्था गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थल पहिचान गरी आवश्यक पूर्वतयारी गर्ने तथा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिहरूमाथि कडा निगरानी राख्ने निर्णय गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।