News Desk
काठमाडौँ । ख्यातिप्राप्त वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। शंखमूलस्थित निवासमा अचानक स्वास्थ्य समस्या देखिएपछि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उहाँको निधन भएको हो।
चलचित्र पत्रकार सामिप्यराज तिमल्सेनाले थापाको निधन भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार थापाका छोराहरू हाल भारतमा रहेकाले उनीहरूको आगमनको प्रतीक्षा भइरहेको छ।
नेपाली चलचित्र क्षेत्रमा जीवन्त अभिनयका लागि परिचित थापाले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो। चलचित्र ‘मसाल’ बाट अभिनय यात्रा सुरु गर्नुभएका थापाले बलिउडसम्म आफ्नो पहिचान बनाउन सफल हुनुभयो। उहाँले बलिउड फिल्म ‘मेरी कोम’ लगायतका चर्चित चलचित्रमा समेत अभिनय गर्नुभएको थियो।
उहाँको निधनले नेपाली कला र चलचित्र क्षेत्रले एक अनुभवी तथा प्रभावशाली कलाकार गुमाएको छ।