News Desk
काठमाडौं । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण र मतदातासँग “कसलाई मत दिनुहुन्छ” भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता उल्लङ्घन गरिएकोप्रति जिल्ला निर्वाचन कार्यालय काठमाडौँले गम्भीर आपत्ति जनाएको छ। कार्यालयले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सरोकारवाला सबै पक्षलाई सचेत गराएको छ।
निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ विपरीतका गतिविधि देखिएको उल्लेख गर्दै यस्ता कार्य तत्काल बन्द गर्न÷नगराउन आग्रह गरेको छ। आचारसंहिता उल्लङ्घन जारी रहेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदान मितिभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने कानुनी व्यवस्था रहेको जनाइएको छ। सो अवधिमा जुलुस, आमसभा वा कोणसभा, सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ।
कार्यालयका अनुसार आचारसंहिताको पालना सुनिश्चित गर्न पटक–पटक छलफल, अन्तक्र्रिया तथा सूचना प्रकाशनमार्फत जानकारी गराइसकिए पनि केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारले ती व्यवस्था उल्लङ्घन गरिरहेका छन्।
निर्धारित समयअगावै कोणसभा आयोजना गर्ने, प्रचारप्रसार गर्ने, प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रममार्फत मतदातालाई प्रभावित पार्ने गतिविधि भइरहेको जानकारी प्राप्त भएकाले यस्ता कार्य नगर्न÷नगराउन निर्वाचन कार्यालयले पुनः ध्यानाकर्षण गराएको छ।
यदि कसैले आचारसंहिता उल्लङ्घन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण फेला परेमा तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताका सम्पूर्ण प्रावधानको पालना गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ।