निर्वाचन एकै चरणमा हुन्छ: गृहमन्त्री ओम प्रकाश अर्याल
News Desk
Feb-08 तारिख 06:30 बिहान

धादिङ/नुवाकोट । गृहमन्त्री ओम प्रकाश अर्यालले देशभर एकै चरणमा निर्वाचन सम्पन्न हुने विषयमा कुनै द्विविधा नरहेको स्पष्ट गर्नुभएको छ। मौसमको बहानामा निर्वाचन एकै चरणमा नहुने भन्ने हल्लामा विश्वास नगर्न उहाँले मतदाता र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ।

निर्वाचन लक्षित सुरक्षा अवस्थाको अनुगमनका लागि धादिङ पुग्नुभएका गृहमन्त्री अर्यालले यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले निर्वाचनलाई सफल र व्यवस्थित बनाउन आवश्यक सबै तयारी भइरहेको बताउनुभयो।

गृहमन्त्री अर्यालले निर्वाचनका लागि सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको उल्लेख गर्दै सबै मतदाताले डररहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। शान्ति, सुरक्षा र निष्पक्षता सरकारको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो।

यसैक्रममा नुवाकोटमा आयोजित कार्यक्रममा पनि गृहमन्त्री अर्यालले निर्वाचन अवधिभर शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो।