News Desk
खोटाङ । जिल्लाको दक्षिणी भेगका बासिन्दाका लागि राहतको खबर आएको छ। बराहपोखरी गाउँपालिका–५ पौवासेरा (खोटाङ) र चौदण्डीगढी नगरपालिका–१ (उदयपुर) को सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ।
गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडान गरेको उक्त बेलिब्रिज आगामी २०८३ साल जेठको पहिलो सातासम्म सञ्चालन गर्ने सहमति भएको छ। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा जडान गरिएको बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर रहेको छ।
बेलिब्रिज निर्माणका लागि आवश्यक संरचनागत सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ८७ लाख रुपैयाँ खर्चेर खरिद गरी पूर्वाधार विकास कार्यालयमार्फत निर्माण कम्पनीलाई उपलब्ध गराएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभयो।
लामो समयदेखि झोलुङ्गे पुल प्रयोग गरेर आवतजावत गर्न बाध्य दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बेलिब्रिज सञ्चालनमा आएपछि उत्साहित भएका छन्। यसले दैनिक यात्रा, स्वास्थ्य सेवा, बजार पहुँच तथा आपतकालीन सेवामा सहजता ल्याउने विश्वास गरिएको छ।
बङ्शिलाघाटमा हाल मोटरेबल पक्की पुल निर्माणको कामसमेत अघि बढिरहेको छ। यसै क्षेत्रका लागि बेलिब्रिज आवश्यक रहेको भन्दै खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले संघीय सरकारसँग माग गर्दै आएका थिए।
संघीय सरकारबाट बजेट उपलब्ध नभएपछि प्रदेश सरकारको लगानीमा अस्थायी बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको बराहपोखरी गाउँपालिका अध्यक्ष सालिकराम बञ्जराले बताउनुभयो। उहाँका अनुसार बेलिब्रिज सञ्चालनले खोटाङ र उदयपुरबीचको आवतजावतलाई सहज बनाउँदै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।