झूटो उद्धारमार्फत बिमा ठगी आरोपमा अस्पताल सञ्चालक पक्राउ
News Desk
Feb-09 तारिख 07:08 बिहान

काठमाडौँ– नेपाल प्रहरीले झूटो उद्धार प्रकरणमा संलग्न भएको आरोपमा लाजिम्पाटस्थित श्रीद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार देखाएर बिमा रकम ठगी गरिएको अभियोगमा आज तिमिल्सिनालाई पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स तथा नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार गरी बिमा दाबी गरेको आरोप लागेको छ।

यस प्रकरणमा यसअघि नै सम्बन्धित तीन कम्पनीका छ जना व्यक्ति पक्राउ परिसकेका छन्। उक्त घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रको छविमा गम्भीर नकारात्मक असर परेको ब्यूरोले जनाएको छ।

पक्राउ परेका डा. तिमिल्सिनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अनुसार राष्ट्रहित प्रतिकूल काम गरेको तथा अन्य कीर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।