News Desk
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेस प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार भरत गिरीले राष्ट्र, राष्ट्रियता, सुशासन र स्थिर राजनीतिक व्यवस्थाको आवश्यकता औँल्याउँदै आम मतदातालाई पार्टीलाई समर्थन गर्न अपिल गरेका छन् ।
गिरीले हाल देशमा मौलाएको भ्रष्टाचार, राजनीतिक अस्थिरता र मूल्यहीन अभ्यास ले देशको भविष्यमा गम्भीर असर पारेको बताउँदै भ्रष्टाचारलाई “आमाको रगत खानु सरह” गम्भीर अपराधका रूपमा व्याख्या गरे। भ्रष्टाचार नियन्त्रण बिना समृद्ध राष्ट्र निर्माण सम्भव नरहेको उनको भनाइ छ।
उनका अनुसार राप्रपाले राष्ट्रवाद, धर्म-संस्कृतिको संरक्षण, सुशासन र जवाफदेही शासन प्रणाली लाई आफ्नो मूल एजेन्डा बनाएको छ। साथै, हिन्दु राष्ट्र कायम गर्ने तथा राजसंस्था सहितको प्रजातान्त्रिक व्यवस्था मार्फत भ्रष्टाचारमुक्त, सबल र समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य पार्टीको रहेको उनले बताए।
मधेस प्रदेश अध्यक्ष गिरीले कृषि उत्पादन वृद्धि, किसानमुखी नीति, ऊर्जा, पानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण तथा आर्थिक आत्मनिर्भरता राप्रपाका प्रमुख प्राथमिकता भएको उल्लेख गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको नेतृत्वमा पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले “अहिले होइन भने कहिले होइन, हामी होइन भने को” भन्ने सन्देशसहित सचेत र विवेकपूर्ण मत प्रयोग गर्न मतदातालाई आग्रह गरे।
गिरीले राष्ट्र निर्माणको अभियानमा साथ दिन सबै नागरिकलाई आह्वान गर्दै “जय राष्ट्रवाद!” को नारासहित आफ्नो धारणा व्यक्त गरेका छन्।