News Desk
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि मगाएका अत्यावश्यक सामग्री समयमै नेपाल नआउँदा निर्वाचनको तयारीमै असर पर्ने देखिएको छ। कोलकाता बन्दरगाह हुँदै आउने सामग्री ढुवानीमा ढिलाइ भएपछि आयोगको निर्धारित कार्यतालिका प्रभावित हुने संकेत देखिएको हो।
आयोगले निर्वाचन प्रयोजनका लागि आवश्यक आठ प्रकारका सामग्री खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरेको थियो। छेकबार, स्वस्तिक छाप तथा मसी, मत हालिसकेपछि नङमा लगाइने मसी, सेक्युरिटी सिल, स्टाम्प प्याडलगायतका सामग्री पुस १३ गते सम्झौता गरेर मगाइएको थियो।
सम्झौताअनुसार कम्पनीले माघ २५ भित्र सबै सामग्री बुझाइसक्नुपर्ने थियो। तर चीन र भारतबाट खरिद गरिएका सामान समयमै आइपुग्न नसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक साताको समय थप माग गरेको छ। आयोगले सामग्री भण्डारणका लागि परिसरको खुला चौरमा टेन्टसमेत तयार गरिसकेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौताअनुसारका सामग्री एक साताभित्र उपलब्ध गराउन आयोगसँग समय थपको आग्रह गरिएको जानकारी दिनुभयो। धेरै सामग्री भारतको कोलकाता बन्दरगाहमा रहेकाले काठमाडौँ आइपुग्न समय लागेको उहाँको भनाइ छ।
उहाँका अनुसार केही सामग्री वीरगञ्ज भन्सार नाकामा आइसकेका छन् भने चीनबाट खरिद गरिएका १० कन्टेनर सामान समुद्री मार्ग हुँदै आउँदै छन्। तीमध्ये आठ कन्टेनर काठमाडौँका लागि र दुई कन्टेनर जिल्लाका लागि तय गरिएको जनाइएको छ।
निर्वाचन आयोगले खाद्यबाट सामग्री प्राप्त भएलगत्तै निर्वाचन क्षेत्रमा ढुवानी सुरु गर्ने जनाएको छ। तर तोकिएको समयमा सामग्री उपलब्ध हुन नसक्दा सम्पूर्ण कार्यतालिका नै प्रभावित हुनसक्ने भन्दै आयोगले यसले निर्वाचन व्यवस्थापनमा चुनौती थपिने जनाएको छ।
आयोगले फागुन ५ गतेदेखि मतपत्रसहित निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ। त्यस्तै, मतदान हुनुभन्दा एक साताअघि निर्वाचन अधिकृतसहितका कर्मचारी र आवश्यक सामग्रीसमेत सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने योजना रहेको आयोगले जनाएको छ।