रामेछाप बस दुर्घटना : मृतक १०, घाइते ८
News Desk
Feb-10 तारिख 09:35 बेलुका

काठमाडौं | रामेछापमा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ भने ८ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय रामेछापका अनुसार दुर्घटनामा परेकामध्ये केहीको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनीको यातायातको बस रामेछापको मन्थली नगरपालिका ६ स्थित मसानटारमा सडकबाट करिब ५० मिटर तल खस्दै तामाकोशी नदीमा पुगेको थियो।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिएअनुसार उद्धार कार्यपछि घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।