News Desk
फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता आकर्षणका लागि परम्परागत शैलीभन्दा फरक र अनौठा उपाय अपनाइरहेका छन्। यसपटक चुनावी प्रचार भाषण र प्रतिबद्धतामा सीमित नरही श्रमिक किसान कलाकार र सर्वसाधारणको भूमिकामा देखिने प्रवृत्ति बढ्दो छ। यस्तो शैली अपनाउनेमा नयाँ दल र नयाँ अनुहार मात्र होइन पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्मका प्रभावशाली नेताहरू अग्रपंक्तिमा देखिएका छन्।
मतदातासँग नजिकिने नाममा उम्मेदवारहरू खेतबारीमा काम गर्ने होटलमा खाना पकाउने सडकमा नाचगान गर्ने जस्ता गतिविधिमा व्यस्त देखिन्छन्। रौतहट क्षेत्र नम्बर ४ बाट आम जनता पार्टीका उम्मेदवार ऋषि धमला यस्ता प्रचार शैलीका चर्चित पात्र बनेका छन्। कहिले होटलमा जेरी पकाउँदै कहिले खेतमा उखु बोक्दै त कहिले चटपटे बनाउनेदेखि सिकर्मीको भूमिका निर्वाह गर्दै उहाँ मत मागिरहनुभएको छ। भेटिएका सर्वसाधारणलाई आफैं माला लगाइदिने र अंगालो हाल्ने उहाँको शैली सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ भने आलोचना र व्यङ्ग्यको विषयसमेत बनेको छ।
यस्तै नुवाकोट क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अच्युतम लामिछाने पनि फरक शैलीका कारण चर्चामा छन्। गलामा फूलको माला र राष्ट्रिय झन्डा ओढेर सडकमा मत माग्दै हिँड्ने उहाँ मतदाता देख्नेबित्तिकै हात जोडेर ढोग्दै जमिनमै लम्पसार पर्नुहुन्छ। उहाँको यो व्यवहारले मतदाता मात्र होइन बाटो हिँड्ने सर्वसाधारणसमेत अचम्मित हुने गरेका छन्।
धादिङ क्षेत्र नम्बर १ की रास्वपा उम्मेदवार आशिका तामाङको घरदैलो अभियान झनै अनौठो देखिएको छ। उहाँले कुखुराको भालेसँगै मत मागिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। उम्मेदवारहरूले सुट लगाएर बारी खन्ने घरभित्र पसेर मोही पार्ने जस्ता दृश्यहरू पनि चुनावी चर्चाको विषय बनेका छन्।
गोरखा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार सुधन गुरुङले पसलमा छिरेर डमिलाई नमस्कार गरेको दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ भने बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनार मतदाताको घरमा पुगेर खुट्टा ढोग्दै आशिर्वाद लिने शैलीका कारण चर्चामा छन्। यस्ता गतिविधिलाई कतिपयले जनतासँग नजिकिने प्रयास भनेका छन् भने कतिपयले दिखावटी राजनीति भनेर आलोचना गरेका छन्।
यस्ता प्रवृत्ति नयाँ उम्मेदवारमा मात्र सीमित छैनन्। लोकप्रियता बढाउने प्रतिस्पर्धामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसमेत अगाडि देखिनुहुन्छ। अघिपछि सुरक्षाकर्मी र सवारी साधनको लामसहित हिँड्ने दाहाल विभिन्न स्थानमा मयूर नृत्य गर्दै कम्मर मर्काउनेदेखि समर्थकसहित मर्निङ वाकमा निस्किएको दृश्यमा देखिनुहुन्छ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री जनार्दन शर्मा पनि दमाहा बजाउने मयूर नाच गर्ने जस्ता गतिविधिमार्फत मतदाता रिझाउने प्रयासमा देखिनुभएको छ। चुनावी समयमा शिक्षा स्वास्थ्य रोजगारी सुशासन र विकासका मुद्दामा गम्भीर बहस हुनुपर्ने भए पनि उम्मेदवारहरू सामाजिक सञ्जाल केन्द्रित लोकप्रियतामा रमाइरहेका छन्।
विशेषज्ञहरूका अनुसार उम्मेदवारका यस्ता गतिविधिले निर्वाचनलाई नीतिगत बहसभन्दा टाढा लैजाँदै व्यक्तिकेन्द्रित प्रचार र दृश्यात्मक लोकप्रियतामा सीमित बनाइरहेको छ। यसले मतदातालाई मनोरञ्जन त दिन सक्छ तर दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यास र जिम्मेवार राजनीतिक संस्कृतिका लागि चुनौती बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।