प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच निर्वाचनसम्बन्धी छलफल
News Desk
Feb-11 तारिख 06:14 बिहान

काठमाडौं | प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारमा सम्पन्न उक्त भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी र व्यवस्थापनका क्रममा छिमेकी मित्रराष्ट्र भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरिन्। विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सहज र व्यवस्थित रूपमा सम्पन्न गर्न सवारी साधनसहित आवश्यक विभिन्न सामग्री उपलब्ध गराएकोमा उनले धन्यवाद दिएकी हुन्।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले स्वतन्त्र निष्पक्ष र सफल निर्वाचन नेपालका लागि मात्र नभई क्षेत्रीय स्थिरताका लागि पनि महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन छिमेकी मुलुकहरूको सकारात्मक सहयोग आवश्यक हुने धारणा राखिन्।

भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति भारतको निरन्तर समर्थन रहने स्पष्ट पारे। मित्रवत् छिमेकीको हैसियतले सहयोग गर्नु भारतको दायित्व भएको उनको भनाइ थियो।

निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि उत्तिकै महत्वपूर्ण हुने राजदूत श्रीवास्तवले उल्लेख गरे। उनले नेपालमा शान्तिपूर्ण र सफल निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै आवश्यक सहकार्य जारी रहने प्रतिबद्धता जनाएका छन्।