News Desk
काठमाडौँ | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन आयोगले विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मतदान प्रक्रियालाई सरल र सहज बनाउँदै बदर मतको संख्या घटाउने लक्ष्यसहित आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशभर कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस कार्यक्रम अन्तर्गत देशका ७५३ वटै स्थानीय तहका कुल ६ हजार ७४३ वडामा एक एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ।
आयोगका अनुसार स्वयंसेवकहरूले मतदाताको घरघरमा पुगेर नमूना मतपत्र प्रयोग गरी मतदान प्रक्रिया निर्वाचनको महत्व र मताधिकार प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन्। यसले मतदातामा स्पष्टता ल्याई सही मतदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले यसअघि नै प्रत्येक स्थानीय तहमा तोकेका सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा जिम्मेवारी दिइएको जानकारी दिए। ती व्यक्तिहरूमार्फत कार्यक्रमको प्रभावकारिता सुनिश्चित गरिनेछ।
आयोगको विश्वासमा मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा जनसहभागिता बढाउने मात्र होइन बदर मतको अनुपात घटाउन समेत महत्वपूर्ण भूमिका खेल्नेछ।
यस कार्यक्रमलाई सफल बनाउन आयोगले सातै प्रदेश सरकार ७५३ वटै स्थानीय तह राजनीतिक दल उम्मेदवार सञ्चार माध्यम तथा अन्य सबै सरोकारवालालाई आवश्यक सहकार्यका लागि आग्रह गरेको छ।
मतदातालाई आफ्नो मताधिकारको महत्व बुझाउँदै सही तरिकाले मतदान गर्न प्रेरित गर्ने उद्देश्यसहित आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ।