दुई सातापछि पोखरामा फोहर सङ्कलन सुरु, स्थायी व्यवस्थापन अझै अन्योलमा
News Desk
Feb-13 तारिख 06:24 बिहान

पर्यटकीय राजधानी पोखरामा करिब दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि पुनः सङ्कलन गर्न थालिएको छ। बजार क्षेत्रका सडक किनार, चोक तथा सार्वजनिक स्थानमा थुप्रिएको फोहरका कारण शहर दुर्गन्धित बनेको थियो र सर्वसाधारण हैरान थिए।

पोखरा–३२ लामेआहालस्थित अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठाउन नसकिएको महानगरले जनाएको छ। वैकल्पिक स्थान खोज्ने प्रयास गरिए पनि स्थानीयको विरोधका कारण ठोस निकास ननिस्कँदा समस्या झन् जटिल बनेको थियो। मुख्य सडकदेखि बिजुलीका पोल वरिपरि समेत फोहर थुप्रिँदा बजार क्षेत्रको वातावरण प्रभावित बनेको थियो।

महानगर प्रमुख धनराज आचार्यका अनुसार बिहीबार साँझदेखि क्रमशः फोहर सङ्कलन गर्ने गाडी सञ्चालनमा ल्याइएको छ। उहाँले केही दिन बढी चाप हुन सक्ने भन्दै धैर्य राख्न र सार्वजनिक स्थानमा जथाभावी फोहर नफाल्न नगरवासीलाई आग्रह गर्नुभएको छ। शनिबारसम्म हालसम्म थुप्रिएको सम्पूर्ण फोहर उठाइसक्ने लक्ष्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

यद्यपि सङ्कलित फोहर कहाँ व्यवस्थापन गरिने भन्ने विषयमा महानगरले स्पष्ट जानकारी दिएको छैन। अस्थायी, अल्पकालीन र दीर्घकालीन समाधानका लागि काम भइरहेको दाबी गरिए पनि ठोस योजना सार्वजनिक गरिएको छैन।

जेनजी आन्दोलनका क्रममा ठूलो परिमाणमा फोहर उत्पादन भएपछि लामेआहालको ल्यान्डफिल साइट भरिएको र त्यसैबाट समस्या चर्किएको बताइएको छ। यसबीच महानगरले विभिन्न स्थानमा फोहर व्यवस्थापन केन्द्र स्थापना गर्न खोजे पनि स्थानीयवासीको असहमति बाधक बनेको थियो।

बुधबार सरोकारवालासँग सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर ७२ घण्टाभित्र फोहर उठाउने सहमति भएको थियो। साथै पोखरा–३३ मा फोहर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको भए पनि समन्वय र सहमतिबेगर निजी कम्पनी छनोट गरिएको आरोप लगाउँदै स्थानीयवासी विरोधमा उत्रिएका छन्। विरोधका कारण प्रशोधन केन्द्रको निर्माण कार्य समेत प्रभावित भएको छ।