News Desk
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक धरोहर पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न इच्छुकले अब घरमै बसेर अनलाइन टिकट बुक गर्न सक्ने भएका छन्। सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै डिजिटल टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेका अनुसार अनलाइन टिकट बुकिङ प्रणाली हाल परीक्षण चरणमा सञ्चालन भइरहेको छ। अहिले भने सङ्ग्रहालय परिसरभित्र रहेका दुई काउन्टरबाटै टिकट वितरण हुँदै आएको छ। साथै, टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था यसअघि नै कार्यान्वयनमा आइसकेको छ।
प्रमुख लाखेले हालसम्म भौतिक रूपमा काउन्टरमा उपस्थित भएर टिकट लिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब अनलाइन माध्यमबाटै अग्रिम बुकिङ गर्न सकिने व्यवस्था भएपछि पर्यटकका लागि सहजता थपिने बताउनुभयो। परीक्षण सफल भएपछि प्रणाली छिट्टै औपचारिक रूपमा सुरु गरिने तयारी रहेको उहाँले जानकारी दिनुभयो।
अनलाइन टिकट प्रणाली लागू भएपछि विशेषगरी पर्यटकको भीड बढ्ने सिजनमा लामो लाइन बस्नुपर्ने समस्या हट्ने, समयको बचत हुने र व्यवस्थापन अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। यसले सङ्ग्रहालय भ्रमणलाई आधुनिक र व्यवस्थित बनाउने विश्वास प्रशासनको छ।
सन् २०२५ मा मात्रै पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक संख्या तीन लाख १३ हजार ३०० पुगेको छ। तीमध्ये सार्क राष्ट्रका ४३ हजार ५३ सहित कुल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालय भ्रमण गरेका थिए। नयाँ अनलाइन प्रणालीसँगै आगामी दिनमा पर्यटक संख्या अझ वृद्धि हुने अपेक्षा गरिएको छ।