News Desk
काठमाडौँ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गरी मतदातालाई सचेत बनाउने कार्यमा आमसञ्चारमाध्यम र पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ।
आयोगले आज आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा उहाँले मतदाता शिक्षा र सचेतनाका लागि सञ्चालन गरिएका कार्यक्रममध्ये यो पनि एक प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। निर्वाचनसम्बन्धी सही सूचना प्रवाहले मतदातामा विश्वास बढाउने उहाँको भनाइ थियो।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले तय गरेको कार्यतालिकाअनुसार निर्वाचन सामग्री आयोगमा आइसकेको जानकारी दिँदै ती सामग्री जिल्ला–जिल्लातर्फ पठाउने काम सुरु भइसकेको बताउनुभयो। मतदान अधिकृतले तालिम लिनुअघि नै आवश्यक सामग्री बुझेर जाने वातावरण तयार भएको उहाँले स्पष्ट पार्नुभयो।
“हाल निर्वाचनको स्वच्छ र पारदर्शी वातावरण बनेको छ, यसलाई धमिलो बनाउने काम कसैले पनि गर्नु हुँदैन,” उहाँले भन्नुभयो। मुलुकलाई जटिल अवस्थाबाट अघि बढाउने प्रभावकारी माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन ४ गतेपछि प्रचारप्रसारको समय सुरु हुने भएकाले आचारसंहिता उल्लङ्घनको सम्भावना बढ्ने र यसबेला सञ्चारमाध्यम अझ सतर्क हुनुपर्ने उहाँले जोड दिनुभयो।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले पूर्वाग्रही ढङ्गले काम गरे त्यसबारे पनि तथ्यमा आधारित समाचारमार्फत खबरदारी गर्न उहाँले आग्रह गर्नुभयो। यस वर्ष निर्वाचनअघि करिब साढे नौ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै विगतमा यति ठूलो सङ्ख्यामा मतदाता थपिएको उदाहरण नभएको उहाँले जानकारी दिनुभयो।
आयोगका सचिव कृष्णबहादुर राउतले लोकतन्त्र र निर्वाचन एकअर्काका पूरक भएकाले निष्पक्ष र तटस्थ सूचना प्रवाह अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन अवधिमा उठ्ने बहस र धारणा निर्माणमा सञ्चारमाध्यम प्रभावकारी हुने भएकाले ‘निगरानीकर्ता’को भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले उन्नत लोकतन्त्रका लागि विश्वसनीय निर्वाचन प्रणाली आवश्यक पर्ने उल्लेख गर्दै मतदातालाई मतदान केन्द्रसम्म ल्याउने वातावरण बनाउन सञ्चारकर्मी सक्रिय हुनुपर्ने धारणा राख्नुभयो। परिणाम सार्वजनिक नभएसम्म सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो।
त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले समाचार लेख्दा सम्बन्धित पक्षको स्थानमा बसेर सोच्ने संस्कार विकास भए पत्रकारितामा देखिने धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जालका कारण बढ्दो विकृतिलाई सुधार गर्न दृष्टिकोण परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो।
आयोगका निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्रकुमार केसीले यस्ता कार्यक्रमले मतदाता सहभागिता वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सही र विश्वसनीय समाचारले सदर मतको प्रतिशत बढाउन मद्दत गर्ने तथा गलत, भ्रामक र द्वेषपूर्ण सूचना न्यूनीकरणमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो।