स्वयम्भू सामुदायिक अस्पतालको २२औँ वार्षिक साधारण सभा सम्पन्न, केशर बहादुर मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन
News Desk
Feb-14 तारिख 08:53 बेलुका

काठमाडौं, फाल्गुण २ – स्वयम्भू सामुदायिक अस्पतालको २२औँ वार्षिक साधारण सभा डल्लुस्थित अस्पताल परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। सामुदायिक स्वास्थ्य सेवा परिषद् अन्तर्गत सञ्चालित अस्पतालको साधारण सभा परिषद्का अध्यक्ष हरीगोपाल श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो।

कार्यक्रमको औपचारिक उद्घाटन ईश्वरमान डंगोलले पानसमा बत्ती बालेर गर्नुभएको थियो। साधारण सभाले आगामी कार्यकालका लागि केशर बहादुर मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको छ।

साधारण सभाको उद्घाटन तथा बन्द दुवै सत्रको सञ्चालन नवनिर्वाचित महासचिव दीपक चन्द्र गौतमले गर्नुभएको थियो।

उद्घाटन मन्तव्य राख्दै ईश्वरमान डंगोलले सामुदायिक अस्पतालले स्थानीय तहमा पुर्‍याएको सेवाको प्रशंसा गर्दै अस्पताललाई अझ आधुनिक र जनमैत्री बनाउन वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्षीय सम्बोधनमा हरीगोपाल श्रेष्ठले विपन्न र असहाय वर्गका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु अस्पतालको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले सामुदायिक अस्पतालहरू स्थानीय तहमा स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै गुणस्तरीय उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी व्यवस्थापन तथा आधुनिक उपकरणको प्रयोगमा जोड दिनुभयो। बिरामीमैत्री सेवा प्रणाली, नियमित स्वास्थ्य जाँच कार्यक्रम तथा विशेषज्ञ सेवाको विस्तारमार्फत अस्पताललाई अझ विश्वासिलो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

United Nature International Peace Nepal Chapterका डा. राजु लामा पी. कोन्दनले स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्व एक–अर्कासँग जोडिएको विषय भएको बताउँदै सामुदायिक अस्पताललाई सामाजिक सहकार्य, स्वयंसेवा तथा संस्थागत सहयोगमार्फत सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो। सेवा विस्तारसँगै स्वास्थ्य सचेतना कार्यक्रम, विपन्न वर्ग लक्षित सेवा तथा अन्तरसंस्थागत सहकार्यलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो।

काठमाडौँ महानगरपालिका वडा नं. १५ का वडा सचिव प्रमोद अधिकारीले स्थानीय सरकार सामुदायिक स्वास्थ्य संस्थासँग सहकार्य गर्न सधैँ सकारात्मक रहेको उल्लेख गर्दै अस्पतालको पूर्वाधार सुधार, सेवा पहुँच विस्तार र नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने कार्यमा वडा कार्यालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, समुदायको सहभागिता बिना स्वास्थ्य संस्था सुदृढ हुन नसक्ने भएकाले सबैलाई सहकार्य गर्न आग्रह गर्नुभयो।

साधारण सभामा सदस्यहरूले अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।

महासचिव दीपक चन्द्र गौतमले नवनिर्वाचित पदाधिकारीका रूपमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै अस्पताललाई केवल उपचार केन्द्रमा सीमित नराखी प्रविधि र मानवीय सेवाको उत्कृष्ट संगम बनाउने संकल्प व्यक्त गर्नुभयो। आगामी कार्यकालमा आन्तरिक व्यवस्थापन सुदृढ गर्न ‘डिजिटल हेल्थ रेकर्ड’ प्रणालीलाई प्राथमिकता दिने, सूचना संयन्त्रलाई प्रभावकारी बनाउने तथा समुदायका नागरिकले सहज रूपमा सेवा सम्बन्धी जानकारी पाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता उहाले हामीसगको कुराकनीकाक्रममा व्यक्त गर्नुभयो।

कार्यक्रममा कोषाध्यक्ष दयामान शाहीले कोषाध्यक्षको प्रतिवेदन र कार्यवाहक महासचिव प्रकाश कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनहरू साधारण सभामा छलफल गरी अनुमोदन गरिएको थियो।

कार्यक्रमका दुवै सत्रको सञ्चालन महासचिव दीपक चन्द्र गौतमले गर्नुभएको थियो।

नवनिर्वाचित कार्यसमिति

अध्यक्ष: केशर बहादुर मानन्धर

उपाध्यक्ष: प्रकाश कुमार श्रेष्ठ

महासचिव: दीपक चन्द्र गौतम

सचिव: निशा अधिकारी थापा

कोषाध्यक्ष: सुरेन्द्र बज्राचार्य

सदस्यहरू: मोहन कृष्ण श्रेष्ठ, नरेन्द्रमान डंगोल, सहजी पन्त, बिष्णु प्यारी श्रेष्ठ, नितु मानन्धर, सुरेश डंगोल, मनराजा रञ्जित तथा निर्जला महर्जन

धेरै पढिएको