News Desk
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशव्यापी मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन आयोग ले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो।
आम नागरिकलाई मताधिकारको महत्व, मतदानको प्रक्रिया तथा निर्वाचनको आधारभूत जानकारी उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आयोगले जनाएको छ। आजबाट प्रारम्भ भएको कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ।
कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवकले घरदैलो तथा बस्तीस्तरमा पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया, मत हाल्ने तरिका र निर्वाचनको महत्वबारे जानकारी दिनेछन्।
आयोगका अनुसार प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सक्रिय सहभागिता बढाउनुका साथै बदर मतको संख्या घटाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमलाई सफल बनाउन सातै प्रदेश सरकार, सबै स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालासँग सहकार्य, समन्वय र सहयोगका लागि आयोगले आग्रह गरेको सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।