नेपाली कांग्रेसको प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधाममा सार्वजनिक गरिने
News Desk
Feb-15 तारिख 07:09 बिहान

काठमाडौं । नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तय गरेको प्रतिज्ञापत्र कार्यक्रम स्थगित गरी बुधबारका लागि सारिएको छ। संशोधित कार्यतालिकाअनुसार अब प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधाममा सार्वजनिक गरिने भएको हो।

पार्टी प्रवक्ता देवराज चालिसे ले आइतबार पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी सभाको औपचारिक सुरुआत गर्नेछ र सोही अवसरमा प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ।

यसैबीच निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई घोषणापत्र पेस गर्न आइतबारसम्मको समयसीमा तोकिसकेको छ। प्रवक्ता चालिसेका अनुसार कांग्रेसले प्रतिज्ञापत्र भने तोकिएको समयमै आयोगमा बुझाउनेछ, तर सार्वजनिक कार्यक्रम भने बुधबार जनकपुरमा आयोजना गरिनेछ।