रामप्रसाद राई गाउँपालिकाद्वारा निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन
News Desk
Feb-16 तारिख 07:00 बिहान

भोजपुरस्थित रामप्रसाद राई गाउँपालिका ले युवाहरूलाई सरकारी सेवामा प्रवेश गर्न प्रेरित गर्ने उद्देश्यसहित लोक सेवा तथा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु गरेको छ। गाउँपालिकाभित्र रहेका इच्छुक तथा योग्य युवालाई लक्षित गर्दै ४५ दिने विशेष कक्षा सञ्चालनमा ल्याइएको हो।

गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार स्थानीय तहबाटै लोक सेवा र शिक्षक सेवासम्बन्धी सचेतना अभिवृद्धि गर्दै दक्ष, जिम्मेवार र राष्ट्रप्रति उत्तरदायी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको हो। उनले बढ्दो बेरोजगारीको समस्यालाई सम्बोधन गर्दै युवालाई सक्षम, सबल र आत्मनिर्भर बनाउने दीर्घकालीन उद्देश्यसमेत रहेको उल्लेख गरे।

“आवश्यक योग्यता पूरा गरेका तथा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर तयारी कक्षा सञ्चालन गरेका छौँ,” अध्यक्ष राईले बताए, “यसबाट युवालाई रोजगारीको अवसरसँग जोड्नुका साथै दिगो जीविकोपार्जनको आधार तयार गर्ने हाम्रो लक्ष्य हो।”

आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाबाट उच्च शिक्षा अध्ययनका लागि बाहिरिएका विद्यार्थीमध्ये भोजपुर बहुमुखी क्याम्पस मा अध्ययनरत विद्यार्थीलाई विशेष प्राथमिकता दिइएको छ। सोही क्याम्पस परिसरमा नियमित रूपमा कक्षा सञ्चालन भइरहेको जनाइएको छ।

हाल ५० जना विद्यार्थी उक्त तयारी कार्यक्रममा सहभागी छन्। नियमित अध्यापनसँगै नमूना प्रश्नपत्र अभ्यास, समूह छलफल, विषयगत मार्गदर्शन तथा अनुभव आदान–प्रदानमार्फत तयारीलाई प्रभावकारी बनाइँदै आएको छ। सहभागी विद्यार्थीहरूले स्थानीय सरकारको पहलप्रति आभार व्यक्त गर्दै यसले आफूहरूलाई प्रतिस्पर्धात्मक परीक्षाका लागि आत्मविश्वास प्रदान गरेको बताएका छन्।

गाउँपालिकाले आवश्यकताअनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। ग्रामीण क्षेत्रमै प्रतिस्पर्धात्मक परीक्षा तयारीको अवसर उपलब्ध भएपछि विद्यार्थी र अभिभावक दुवै पक्ष उत्साहित भएका छन्।