प्रतिनिधिसभा निर्वाचन प्रचार आजदेखि सुरु, आचारसंहिता पालना गर्न आयोगको कडा निर्देशन
News Desk
Feb-16 तारिख 07:26 बिहान

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान मितिभन्दा १५ दिनअघि मात्रै जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने कानुनी व्यवस्था रहेअनुसार आजबाट प्रचार अभियान औपचारिक रूपमा सुरु भएको हो।

निर्धारित कार्यतालिका अनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसारका गतिविधि सञ्चालन गर्न सक्नेछन्। दल तथा उम्मेदवारले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई केन्द्रमा राख्दै आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ। सोही सीमाभित्र रही उम्मेदवारहरूले मतदातासमक्ष आफ्नो एजेण्डा प्रस्तुत गर्दै मत माग्न पाउनेछन्।

निर्वाचन आयोग नेपाल ले आचारसंहिताको कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित दल वा उम्मेदवारलाई पत्राचारमार्फत स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही प्रक्रिया अघि बढाइने आयोगले स्पष्ट पारेको छ।

आयोगले आचारसंहिता व्यापक परामर्श र छलफलपछि तयार गरिएको स्मरण गराउँदै सबै राजनीतिक दलले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार आचारसंहिता उल्लङ्घनप्रति आयोगले शून्य सहनशीलताको नीति अपनाएको छ। उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेतना, जरिवाना वा उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

यसैबीच, दल र उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन प्रकाशन गर्न सक्नेछन्। आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च व्यवस्थापनलगायत खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

निर्वाचन अवधिमा कुनै दल वा उम्मेदवारविरुद्ध निहित स्वार्थका आधारमा सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले स्पष्ट पारेको छ। यस्तो गतिविधिले निर्वाचनको निष्पक्षतामा असर पार्न सक्ने भएकाले आयोगले सतर्कता बढाएको जनाएको छ।