जिल्ला प्रशासन कार्यालय पर्साबाटआजदेखि आमाको नामको आधारमा नागरिकता वितरण प्रणाली औपचारिक रूपमा शुभारम्भ
News Desk
Feb-17 तारिख 08:27 बेलुका

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि आमाको नामको आधारमा नागरिकता वितरण प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार एकै आमाका दुई छोरा रुस्तम मियाँ अन्सारी र रहमत मियाँ अन्सारी (दाजुभाइ)लाई आमाको नामको नागरिकता प्रदान गरेका हुन्।

नागरिकता ऐन र नियमावलीमा सरकारले हालै गरेको संशोधनअनुसार विभिन्न कारणले नागरिकता पाउन नसकेका नागरिकलाई आमाको नामको आधारमा नागरिकता दिन सकिने व्यवस्था लागू भएपछि पर्सामा पनि सो प्रक्रिया सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यसअघि बारा लगायतका जिल्लामा आमाको नामबाट नागरिकता वितरण सुरु भइसकेको भए पनि पर्सामा भने उक्त व्यवस्था कार्यान्वयनमा ढिलाइ भएको थियो।