News Desk
काठमाडौँ – राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले फागुन ४ गते बिहान १० बजेदेखि फागुन ५ गते बिहानसम्म देशभर १९ वटा विपद्का घटना दर्ता भएको जनाएको छ। तीमध्ये १५ वटा आगलागीका घटना रहेको विवरण सार्वजनिक गरिएको छ।
प्राधिकरणका अनुसार हिउँदमा सुक्खा मौसम र असावधानीका कारण आगलागी बढ्दो क्रममा देखिएको छ। सामान्य सावधानी अपनाएमा रोक्न सकिने प्रकृतिका घटना बढी भएको उल्लेख गरिएको छ।
जिल्लागत विवरणअनुसार तेह्रथुम, संखुवासभा र मोरङमा एक–एक आगलागीका घटना भएका छन् भने सिरहा, सर्लाही र स्याङजामा दुई–दुई वटा आगलागी भएको छ। साथै बारा, पर्सा, रुपन्देही र बझाङमा पनि आगलागीका कारण भौतिक क्षति पुगेको छ।
यस अवधिमा संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोका घटना भएका छन् भने बैतडीमा जनावरको आक्रमणसम्बन्धी घटना भएको छ। विभिन्न विपद्का घटनामा परी छ जना घाइते भएका छन्। कुल क्षति ३४ लाख १२ हजार रुपैयाँ बराबर आँकलन गरिएको छ।
प्राधिकरणले हिउँदको समयमा सुक्खा वातावरण रहने भएकाले आगलागीको जोखिम उच्च हुने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।