News Desk
काठमाडौँ |अब टिकटक केवल मनोरञ्जनको माध्यम मात्र होइन, राष्ट्रिय दायित्व पूरा गर्ने अवसर पनि बनेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ।
आयोगले निर्वाचनलाई भव्य, सभ्य र व्यवस्थित बनाउन तथा मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत जनचेतना अभियान सञ्चालन गर्न लागेको हो। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई केन्द्रमा राखेर सन्देशमूलक भिडियो तयार पार्न आह्वान गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले निर्वाचन आचारसंहिता, मतदाता शिक्षा, मतदानको महत्व, मतपत्रमा सही तरिकाले छाप लगाउने प्रक्रिया, मतदाताको अधिकार र कर्तव्य तथा योग्य उम्मेदवार छनोटजस्ता विषयमा आधारित एक मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ। भिडियो आफ्नै मौलिक अवधारणा, अडियो र अभिनयसहित तयार पारिएको हुनुपर्नेछ।
तयार गरिएको भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ भने यही फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्नेछ। आयोगमा प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने उत्कृष्ट तीनलाई नगद पुरस्कार प्रदान गरिनेछ।
पहिलो स्थान हासिल गर्नेले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ र तेस्रोले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोगले प्राप्त उत्कृष्ट भिडियोहरू आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने अधिकार पनि राख्नेछ।
एक व्यक्तिले एउटै विषयमा एक भिडियो मात्र पठाउन सक्नेछन् भने समूहमा समेत भिडियो निर्माण गर्न सकिनेछ। तोकिएको मापदण्ड पूरा नगरेका वा म्याद नाघेर प्राप्त भएका भिडियोहरू भने स्वीकार गरिने छैनन्। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको मूल्याङ्कनका आधारमा गरिने जनाइएको छ।