News Desk
निर्वाचन आयोग ले आसन्न निर्वाचनको तयारीलाई तीव्र बनाउँदै देशभरका निर्वाचन क्षेत्रमा मतपत्र तथा अन्य आवश्यक सामग्री ढुवानी गर्ने कार्यलाई गति दिएको छ। आयोगका अनुसार हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा पनि यो कार्य नियमित रूपमा जारी रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणालीअन्तर्गतका मतपत्रको छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गरी प्याकिङसहित सम्बन्धित क्षेत्रमा पठाइएको छ।
आयोगले गत माघ २९ गते कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो। त्यसपछि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निरन्तर रूपमा सामग्री पठाइएको हो। वागमती प्रदेशसहित अन्य प्रदेशमा पनि ढुवानी कार्य जारी रहेको छ। राजधानी काठमाडौंभित्रका मतदान केन्द्रहरूमा समेत केही दिनभित्र सबै सामग्री पुर्याइने आयोगले जानकारी दिएको छ।
मतपत्रबाहेकका अन्य निर्वाचन सामग्रीको ढुवानी भने अधिकांश क्षेत्रमा सम्पन्न भइसकेको छ। निर्वाचन सञ्चालनका लागि कुल ५१ प्रकारका सामग्री आवश्यक पर्ने बताइएको छ।
मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगले तोकेको कार्यतालिका अनुसार गरिएको हो। गत पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु गरी १० लाख ९८ हजार २०० नमूना मतपत्र तयार गरिएको थियो।
त्यसैगरी, समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म सम्पन्न भएको थियो। समानुपातिक प्रणालीका लागि दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ।