News Desk
निर्वाचन आयोग ले आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभर मतदाता शिक्षा अभियान सञ्चालन गरिरहेको जनाएको छ।
आयोगले आज आयोजित पत्रकार सम्मेलनमा फागुन ३ गतेदेखि १७ गतेसम्म देशका ७५३ स्थानीय तहअन्तर्गत रहेका ६ हजार ७४३ वटै वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी दिएको छ।
आयोगका अनुसार स्वयंसेवकहरू मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व, मतदान गर्ने तरिका र मतदाता सचेतनासम्बन्धी जानकारी प्रदान गरिरहेका छन्। आयोगकी प्रवक्ता सीता पुन श्रीसले प्रत्यक्ष भेटघाटमार्फत मतदाता सचेतना बढाउने कार्य प्रभावकारी रूपमा अघि बढाइएको बताउनुभयो।
मतदाता शिक्षा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगले स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिई आवश्यक अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको जनाएको छ।