लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन, द्विपक्षीय सम्बन्ध सुदृढ हुने अपेक्षा
News Desk
Feb-21 तारिख 05:50 बिहान

लिस्बन स्थित नेपाली दूतावासको बिहीबार एक विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको छ। गत अप्रिलदेखि सेवा प्रवाह सुरु गरेको दूतावासलाई अब औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

दूतावासको उद्घाटन नेपाल सरकार, परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले संयुक्त रूपमा गर्नुभयो।

उद्घाटन समारोहमा परराष्ट्र सचिव राईले नेपाल–पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउन दूतावासले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। पोर्चुगल सरकारका तर्फबाट राज्यसचिव जेभियरले दूतावास स्थापनाप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावास दुई देशबीच सम्बन्ध विस्तार र सहकार्य अभिवृद्धिका लागि प्रभावकारी माध्यम बन्ने बताउनुभयो। कार्यक्रममा पोर्चुगलको विदेश मन्त्रालयका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, दूतावासका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले भोगिरहेका समस्या, सेवा प्रवाहमा देखिएका जटिलता तथा कागजी प्रक्रियासम्बन्धी कठिनाइबारे गुनासो राखेका थिए। विशेषगरी केही दलालले दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप तथा हस्ताक्षर प्रयोग गरी ठगी गर्दा वैधानिक बसोबास प्रक्रियामा रहेका सयौँ नेपाली प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको थियो।

यसका साथै नेपालमा पोर्चुगलको दूतावास नभएकाले भिसा प्रक्रियाका लागि दिल्ली जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै नेपालमै भिसा केन्द्र स्थापना गर्न पहल गरिदिन आग्रह गरिएको थियो। सहभागीका गुनासा र जिज्ञासाको जवाफ दिँदै सचिव राईले पोर्चुगलमा रहेका नेपालीका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताउनुभयो।

यसैबीच दूतावासले गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागितामा ७६औँ प्रजातन्त्र दिवस पनि मनाएको जनाएको छ।