News Desk
प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब ११ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित आवश्यक निर्वाचन सामग्री पुगेको छ। निर्वाचन आयोगले कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्लामा हवाईमार्गमार्फत सामग्री ढुवानी गर्दै आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट शनिबार मतपत्रसहित १० प्रकारका निर्वाचन सामग्री हुम्ला पुर्याइएको हो। साथै, मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी खर्च र हेलिकोप्टर खर्चसमेत पठाइसकिएको र आवश्यकताअनुसार थप व्यवस्थापन गरिने जनाइएको छ।
तीन हजार मिटरभन्दा माथिको उचाइका कारण लेक लाग्ने जोखिमलाई ध्यानमा राख्दै औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई बजेटसमेत उपलब्ध गराइएको छ। कर्णालीका हिमाली जिल्लामा खटिने कर्मचारीको आवत–जावत सुरक्षित बनाउन सुरक्षा निकायको सुझावअनुसार थप व्यवस्थापनको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिनुभयो।
जिल्लामा कुल ३४ हजार ३७२ मतदाता रहेका छन् भने ६० मतदानस्थल र ६४ मतदान केन्द्र निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो।
निर्वाचन व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३६९ कर्मचारी परिचालन गरेको छ। ३०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच–पाँच जना र सोभन्दा बढी मतदाता भएका केन्द्रमा छ–छ कर्मचारी खटाइएको छ। साथै, आवश्यक परेमा परिचालन गर्न दुई मतदान अधिकृत र दुई सहायक मतदान अधिकृत जगेडामा राखिएको छ।
जिल्लाभर ६४ मतदान केन्द्रका लागि ६४ मतदान अधिकृत, ६४ सहायक मतदान अधिकृत, १७५ सहायक कर्मचारी र ६४ सहयोगी कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो। साथै प्रशासनिक तथा लेखा व्यवस्थापनका लागि छुट्टै कर्मचारीको जिम्मेवारीसमेत तोकिएको छ।