मधेशमा राप्रपाको सक्रियता बढ्दो, अध्यक्ष भरत गिरीको चुनावी दौड तीव्र
News Desk
Feb-22 तारिख 12:59 बेलुका

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेस प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार भरत गिरी मधेश प्रदेशमा कार्यकर्ता भेटघाट, आमसभा तथा कोणसभा केन्द्रित कार्यक्रममा सक्रिय भएका छन्।

पार्टीको मधेश प्रदेश कार्यसमितिले सार्वजनिक गरेको तालिका अनुसार विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। अध्यक्ष गिरीका अनुसार कार्यक्रम सफल बनाउन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, जिल्ला तथा स्थानीय तहका कार्यसमिति, उम्मेदवार तथा भ्रातृ संगठनलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्न आग्रह गरिएको छ।

मधेस प्रदेश अध्यक्ष गिरीले कृषि उत्पादन वृद्धि, किसानमुखी नीति, ऊर्जा र पानीको सदुपयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार, धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण तथा आर्थिक आत्मनिर्भरतालाई राप्रपाका प्रमुख प्राथमिकताका रूपमा अघि सार्नुपर्नेमा जोड दिएका छन्।

मधेशका विभिन्न स्थानहरूमा सम्पन्न घरदैलो कार्यक्रम तथा कोणसभामार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै गिरीले राप्रपाको योजना, कार्यदिशा र प्रतिबद्धता सम्पूर्ण नेपालीमाझ स्पष्ट रूपमा पुगेको दाबी गरे। आगामी निर्वाचनमा राप्रपाका उम्मेदवारहरू विजयी हुने विश्वाससमेत उनले व्यक्त गरे।

“राष्ट्रहित, सुशासन र समृद्ध मधेश निर्माणप्रति हाम्रो प्रतिबद्धता स्पष्ट छ,” उनले भने।

आगामी निर्वाचनमा चुनाव चिन्ह ‘हलो’ मा मतदान गरी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सशक्त बनाउन उनले मतदातासँग अपिल गरेका छन्।

राप्रपाले ‘देशको भलोमा, एक भोट हलोमा’ नारासहित मधेश केन्द्रित चुनावी अभियानलाई तीव्रता दिएको जनाएको छ। कार्यक्रममार्फत पार्टीले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा मतदाता संवादलाई प्राथमिकता दिएको बताइएको छ।