गैरआवासीय नेपाली संघ आईसीसी युवा उपाध्यक्षमा युवा उपाध्यक्ष भिमसेन थापाद्वारा उम्मेदवारी
News Desk
Feb-22 तारिख 09:18 बेलुका

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान आईसीसी युवा संयोजक भिमसेन थापाले आगामी एकता अधिवेशनका लागि आईसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । युरोपको (पोर्चुगल)बाट सक्रिय नेतृत्व गर्दै आएका थापाले संगठनात्मक रूपान्तरण, प्रत्यक्ष निर्वाचन, युवाको सार्थक सहभागिता र संस्थागत एकतालाई मुख्य एजेन्डा बनाउँदै आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
पोर्चुगल निवासी थापा सफल व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन्। हस्पिटालिटी, कृषि र निर्माण क्षेत्रमा युरोप र नेपालमा उल्लेख्य लगानी गरेका उनले एनआरएनए एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष, आईसीसी सदस्य तथा युरोप डिआरसी हुँदै हाल आईसीसी युवा संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्। संस्थाको विभिन्न तहमा काम गरेको अनुभवले उनलाई नीतिगत तथा कार्यान्वयन दुवै पक्षमा दक्ष नेतृत्वका रूपमा स्थापित गरेको छ।
थापाले एनआरएनएभित्र देखिएको मतभेद अन्त्य गर्दै संस्थालाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएका छन्। “देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र जुधेर बस्नु हुँदैन,” भन्ने उनको स्पष्ट धारणा छ। आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्तावलाई उनले संस्थागत लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण पहलका रूपमा अघि सारेका छन्। पारदर्शिता, सहभागिता र जवाफदेहितालाई प्राथमिकता दिने नेतृत्व अहिलेको आवश्यकता रहेको उनको तर्क छ।
युवाहरूलाई संस्थामा सक्रिय रूपमा सहभागी गराउँदै नीतिनिर्माण र नेतृत्व तहमा अर्थपूर्ण भूमिका सुनिश्चित गर्ने उनको योजना छ। युरोपमा छरिएका युवा पेशागत समुदाय, विद्यार्थी र उद्यमीहरूलाई एउटै सञ्जालमा जोडेर सीप, स्रोत र अनुभवको समन्वय गर्ने उनले बताएका छन्। निर्वाचित भए युरोपवासी नेपालीहरूको सल्लाह–सुझावलाई आधार बनाएर साझा कार्ययोजना अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

देशमा भूकम्प गएको बेला सिन्धुपाल्चोक
लगायत विभिन्न जिल्लामा राहत तथा सहयोग कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थापाले कोभिड–१९ महामारीका समयमा पनि खुलेर देशलाई सहयोग गरेका थिए। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै उनले आफू पदका लागि होइन, सेवाका लागि अभियानमा रहेको बताएका छन्।
आगामी निर्वाचनले एनआरएनएको भावी दिशा तय गर्ने सन्दर्भमा थापाको उम्मेदवारीलाई युरोपका लाखौं नेपालीको आवाज अन्तर्राष्ट्रिय मञ्चमा संस्थागत रूपमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ। भाषणभन्दा काम, पदभन्दा सेवा र प्रचारभन्दा परिणामलाई प्राथमिकता दिने कार्यशैलीका कारण उनी आईसीसी युवा उपाध्यक्ष पदका लागि सक्षम र प्रभावकारी उम्मेदवारका रूपमा उभिएका छन्। उनले समस्त गैरआवासीय नेपाली तथा अभियन्ताहरूसँग साथ, समर्थन र सुझावको अपेक्षा गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन्।