धादिङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो
News Desk
Feb-24 तारिख 05:45 बिहान

काठमाडौं । धादिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी यात्रु घाइते भएका छन्।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा परी १८ जनाको मृत्यु भएको जानकारी दिएका छन्। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

प्रहरीका अनुसार घटनास्थलमै ११ पुरुष र ६ महिलाको मृत्यु भएको थियो। मृतकमध्ये एक पुरुष र एक महिला विदेशी नागरिक रहेका छन्।

दुर्घटनामा घाइते भएका २७ जनाको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। घाइतेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन्। केहीलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने गम्भीर अवस्थाका अधिकांशलाई काठमाडौं रिफर गरिएको छ।

दुर्घटनालगत्तै घटनास्थलमा  प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

सुरक्षा निकायले घटनास्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकेको जनाएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।