पश्चिमी प्रणालीको प्रभावः देशभर वर्षा, असिना र चट्याङ, आज​ पनि वर्षाको सम्भावना
News Desk
Feb-25 तारिख 05:51 बिहान

काठमाडौँ | पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण म​ङ​ल​वार​ देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा वर्षा, मेघगर्जन, चट्याङ तथा असिनापानी भएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार पश्चिमको तुलनामा मध्य तथा पूर्वी क्षेत्रमा बढी वर्षा भएको छ। काठमाडौँको जरसिंहपौवा, नुवाकोटको ककनीलगायतका स्थानमा असिनासहित वर्षा भएको जनाइएको छ।

विभागले साँझसम्मको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सङ्खुवासभामा ३६।८ मिलिमिटर मापन गरिएको छ। त्यसपछि सिन्धुपाल्चोकमा २५।६ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०।६, म्याग्दीमा १०।६, प्यूठानमा १३।८, रोल्पामा २०।८, ललितपुरमा १३।२, काठमाडौँमा २।६, भक्तपुरमा ३।४ र दोलखामा ८।४ मिलिमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा भने १० मिलिमिटरभन्दा कम वर्षा भएको विभागले जनाएको छ। केही स्थानमा असिनासहित वर्षा हुँदा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही जिल्लामा हिमपातसमेत भएको छ।

विभागका अनुसार आज​ पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बुधबार तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।