News Desk
नेपालगञ्ज | निर्वाचनका क्रममा समाचार सम्प्रेषण गर्दा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकारहरूलाई सरोकारवालाले आग्रह गरेका छन्।
नेपाल पत्रकार महासङ्घ, बाँके शाखाद्वारा आयोजित ‘निर्वाचन रिपोर्टिङ र आचारसंहिता’ विषयक अन्तरसंवाद कार्यक्रममा वक्ताहरूले आचारसंहिता पालनाले पत्रकारिताको विश्वसनीयता, निष्पक्षता र गरिमा थप मजबुत बनाउने धारणा व्यक्त गरे।
महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारितामा विवेकपूर्ण निर्णय र जिम्मेवार प्रस्तुति नै आचारसंहिताको मूल मर्म भएको बताए। उनले पत्रकारद्वारा तयार गरिने समाचार, श्रव्य–दृश्य सामग्री तथा विश्लेषणले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
त्यस्तै, महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पछिल्लो समय सञ्चारगृहहरूमा अत्यधिक ‘सेल्फ सेन्सरसिप’ देखिन थालेको उल्लेख गर्दै परम्परागत सञ्चारमाध्यम र सामाजिक सञ्जाल फरक प्रकृतिका माध्यम भएको बुझेर जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिए।
महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकार आचारसंहिता पालनाले पत्रकारलाई नैतिक र व्यावसायिक अनुशासनमा राख्नुका साथै समाजप्रतिको उत्तरदायित्व बोध गराउन सहयोग पुग्ने बताए।