News Desk
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य निकायले उच्च सतर्कता अपनाउन किसानलाई आग्रह गरेका छन्।
केही समययता व्यावसायिक फार्महरूमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा रातो तथा नीलो धब्बा देखिने र अचानक मर्न थालेपछि गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी ले द्रुत प्रतिक्रिया टोली परिचालन गरी प्रभावित क्षेत्रबाट नमूना संकलन गरेको थियो।
प्रारम्भिक रूपमा ‘रेपिड एन्टिजेन’ परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको थियो। त्यहाँ पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिनुभयो।
हालसम्म संक्रमण कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका किसानले पालेका बङ्गुरमा देखिएको छ। रोग प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै चिकित्सक जोशीले समयमै जैविक सुरक्षा उपाय नअपनाए ठूलो आर्थिक क्षति हुन सक्ने चेतावनी दिनुभयो।
उहाँका अनुसार अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर र जङ्गली बँदेलमा लाग्ने अत्यन्त संक्रामक र घातक भाइरल रोग हो, जसमा मृत्युदर शतप्रतिशतसम्म पुग्न सक्छ। संक्रमण फैलिएमा पूरै बथान नष्ट हुने जोखिम रहने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
पशु अधिकृत रामप्रसाद भट्टका अनुसार संक्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, दाना–पानी खान छोड्ने, झोक्रिने, एकै ठाउँमा थुप्रिएर बस्ने तथा छट्पटाउने जस्ता लक्षण देखिन्छन्। साथै कान, पुच्छर र पेटको तल्लो भागमा रगत जमेका रातो वा नीलो धब्बा देखिनु यस रोगको मुख्य संकेत हो।
यसका अतिरिक्त नाकबाट फिँज आउने, बान्ता र पखाला लाग्ने, हिँड्दा असन्तुलित हुने र केही दिनमै मृत्यु हुने अवस्था देखिने गर्दछ। यो रोग मानिसमा सर्ने प्रकारको नभए पनि यसले बङ्गुरपालक किसानलाई ठूलो आर्थिक क्षति पुर्याउने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ।
पशु चिकित्सकहरूले कुनै पनि स्थानमा बङ्गुरमा असामान्य लक्षण देखिएमा वा अचानक मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा सम्बन्धित प्रयोगशालामा जानकारी गराउन आग्रह गरेका छन्।