News Desk
सर्लाही । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाही जिल्लामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाभर रहेका ३१२ मतदानस्थलमध्ये १५८ वटालाई अतिसंवेदनशील र १३१ वटालाई संवेदनशीलको सूचीमा राखेको छ।
विशेषगरी गगन थापा उम्मेदवार रहेको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का सबै ८१ वटै मतदानस्थल अतिसंवेदनशील घोषणा गरिएको छ। विगतका निर्वाचनहरूमा मतदान तथा मतगणनाका क्रममा पटक–पटक तनाव र झडप हुने गरेको इतिहासका कारण यस क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको हो।
सर्लाही भारतसँग करिब ६४ किलोमिटर खुला सीमासँग जोडिएको जिल्ला हो। क्षेत्र नम्बर ४ अन्तर्गतका बलरा र गडैता नगरपालिका तथा विष्णुपुर र रामनगर गाउँपालिका सीमावर्ती क्षेत्रमै पर्ने भएकाले पनि सुरक्षा चुनौती बढेको छ। तर, सीमासँगको निकटता मात्र होइन, निर्वाचनका बेला हुने झडप, बुथ कब्जाको प्रयास र राजनीतिक प्रतिस्पर्धाको तीव्रताले पनि क्षेत्रलाई संवेदनशील बनाएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
२०६४ सालको संविधानसभा निर्वाचनका क्रममा मतदान केन्द्र कब्जा गर्ने प्रयास र बम विस्फोटसमेत भएको थियो। त्यसयता २०७४ र २०७९ का निर्वाचनमा पनि मतगणनाका बेला झडप र तनावका घटना भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा दर्ता भएका ३३४ मध्ये ६४ वटा हतियार मात्रै प्रशासनमा बुझाइएको छ। बाँकी अवैध तथा घरेलु हतियार प्रयोग हुनसक्ने जोखिमलाई पनि सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।
यस क्षेत्रको चुनावी प्रतिस्पर्धा पनि निकै रोचक र कडा छ। अमरेशकुमार सिंह र शिवपुजन यादव समूहबीचको प्रभाव तथा एमालेबाट उम्मेदवारी दिएका अमनिशकुमार यादवको सहभागिताले प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ।
संभावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। सुरक्षा निकायले नियमित गस्ती, निगरानी र आकस्मिक उद्धार तथा नियन्त्रण टोली तयारी अवस्थामा राखिएको जनाएको छ। यसपटक शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराउन सुरक्षा संयन्त्रले विशेष सतर्कता अपनाएको छ।