बालेनलाई युवाको समर्थन र​हेको रोय​ट​र्स​को दाबी
News Desk
Feb-26 तारिख 06:44 बिहान

काठमाडौं । गत भदौमा युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि ७७ जनाको ज्यान गएको घटनाले राजनीतिक तरंग सिर्जना गर्‍यो र त्यसको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले पद त्याग्नुपर्‍यो। त्यसलगत्तै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत युवालाई देशको नेतृत्वका लागि तयार रहन आह्वान गरेका थिए।

पाँच महिनापछि फागुन २१ मा हुन लागेको निर्वाचनपछि उनी प्रधानमन्त्री पदका प्रमुख दाबेदारका रूपमा उभिएको विश्लेषण हुन थालेको छ। २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर जितेर राजनीतिक यात्रा सुरु गरेका बालेन छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

औपचारिक र विश्वसनीय सर्वेक्षण नभए पनि विभिन्न राजनीतिक विश्लेषक र सञ्चारमाध्यमहरूले उनलाई नयाँ पुस्ताको प्रतिनिधि नेताका रूपमा अघि बढेको बताएका छन्। परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वको खोजीले उनको लोकप्रियता थप बढाएको मानिन्छ।

संवैधानिक कानुनका विज्ञ विपिन अधिकारीका अनुसार बालेनको लोकप्रियता यति व्यापक छ कि राजधानीमा सार्वजनिक सवारीसाधनमै उनको नामसँग सम्बन्धित सन्देशहरू देखिन थालेका छन्। र्‍याप संगीतमार्फत स्थापित सामाजिक आलोचनाको छविलाई उनले राजनीतिक पूँजीमा रूपान्तरण गरेका छन्।

यदि उनी सत्तामा पुगे भने नेपालमा दशकौँदेखि प्रभुत्व जमाएका परम्परागत दलहरूको वर्चस्वमा परिवर्तन आउने विश्लेषण गरिएको छ। हाल देशको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस जस्ता स्थापित दलहरूको प्रभाव रहँदै आएको छ।

बालेन आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो घोषणापत्रमा भारत र चीनबीच सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने नीति अघि सारेको छ। साथै, रोजगारी सिर्जना, वैदेशिक रोजगारको निर्भरता घटाउने, प्रतिव्यक्ति आम्दानी वृद्धि गर्ने र आर्थिक आकार विस्तार गर्ने लक्ष्य पनि सार्वजनिक गरिएको छ।

काठमाडौं महानगरको नेतृत्व सम्हालेपछि उनले फोहोर व्यवस्थापन, सहरी सेवा सुधार र आधारभूत सेवा प्रवाहलाई प्राथमिकता दिएका थिए। तर, ठेला व्यवसायी व्यवस्थापन र सुकुम्बासी हटाउने क्रममा बल प्रयोग गरेको भन्दै मानवअधिकार निकायहरूबाट आलोचना पनि खेप्नुपरेको थियो।

मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष रूपमा युवासँग संवाद गर्ने शैली उनकाे अर्को विशेषता हो। लाखौँ फलोअर्स भएका प्लेटफर्ममार्फत छोटा सन्देश र अभियान सामग्री सार्वजनिक गर्दै उनले चुनावी अभियानलाई अघि बढाइरहेका छन्।

सिभिल इन्जिनियरिङ अध्ययन गरेका बालेन दक्षिण भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। र्‍याप संगीतमार्फत सामाजिक असमानता, भ्रष्टाचार र शासन व्यवस्थामाथि आलोचना गर्दै उनले युवामाझ पहिचान बनाएका थिए।

विश्लेषकहरूका अनुसार उनको सम्भावित सफलता केवल लोकप्रियतामा मात्र निर्भर रहने छैन। प्रभावकारी नेतृत्वका लागि सक्षम टिम निर्माण, प्रशासनिक सुधार र नीतिगत कार्यान्वयन क्षमता नै उनको वास्तविक परीक्षा हुने बताइएको छ।