News Desk
मुस्ताङ । माइनस डिग्रीसम्म झर्ने तापक्रमका बीच हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै गएको छ। फागुन २१ मा हुने निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका छन्।
निर्वाचनको प्रारम्भिक चरणमा माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुगेको थियो। हाल मौसम केही सुधार भए पनि त्यहाँ माइनस १० डिग्री र तल्लो मुस्ताङमा करिब माइनस ३ डिग्री तापक्रम कायम रहेको छ। कठोर मौसमका बाबजुद तल्लो क्षेत्रको घाँसादेखि नेपाल–चीन सीमा कोरलासम्म चुनावी गतिविधि सक्रिय देखिएको छ।
जिल्लामा उम्मेदवारी दिएका आठ राजनीतिक दलमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो नेपाल पार्टी ले विशेष रूपमा प्रचार अभियानलाई गति दिएका छन्। यसका अतिरिक्त मङ्गोल नेपाल अर्गनाइजेसन र आम जनता पार्टीका उम्मेदवार पनि मतदातासम्म पुगिरहेका छन्।
चिसो छल्न बेँसी झरेका धेरै मतदाता अझै गाउँ फर्किएका छैनन् भने केही मतदाता भने पुनः माथिल्लो भेगतर्फ जान थालेका छन्। मतदाता फर्काउन दल र उम्मेदवारले विभिन्न पहल गरिरहेका छन्।
उम्मेदवारहरूले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा विस्तार र स्वास्थ्य सेवाको सुधारलाई मुख्य एजेन्डा बनाएका छन्। नेपाल–चीन सीमास्थित कोरला नाकाको पूर्वाधार, भन्सार तथा एकीकृत सुरक्षा पोस्ट निर्माण, तिब्बत हुँदै मानसरोवर पर्यटन मार्गको विकास, निषेधित क्षेत्र व्यवस्थापन, सडक सञ्जाल विस्तार, जलवायु जोखिम न्यूनीकरण र युवा उद्यमशीलता प्रवर्द्धनजस्ता विषयलाई प्राथमिकता दिइएको छ।
त्यस्तै, अलपत्र विकास योजनालाई अघि बढाउने, पर्यटकीय पूर्वाधार निर्माण गर्ने, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउने र विगतमा नापी हुन छुटेका जग्गाको पुनः नाप–नक्सा गर्ने प्रतिबद्धतासमेत उम्मेदवारहरूले व्यक्त गरेका छन्।
यस जिल्लामा विगतमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने गरे पनि यसपटक चार दलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ भने राप्रपा र उज्यालो नेपाल पार्टीले पनि चुनौती दिने देखिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। मतदान केन्द्रका कर्मचारी व्यवस्थापन, तालिम तथा कार्य विभाजन पूरा भइसकेको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी का ५०१ र सशस्त्र प्रहरी बल का २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्। साथै नेपाली सेना ले माथिल्लो र तल्लो मुस्ताङमा सुरक्षा बेस क्याम्प स्थापना गरी नियमित गस्ती बढाएको छ।