News Desk
काठमाडौँ | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा पुर्याइएको छ। निर्वाचन तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) र समानुपातिक प्रणालीका लागि गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाइ गरी ७७ वटै जिल्लामार्फत सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ।
निर्वाचन आयोगले स्वीकृत कार्यतालिकाअनुसार सम्पूर्ण व्यवस्थापकीय कामहरू निर्धारित समयसीमाभित्र सञ्चालन भइरहेका जनाएको छ। आवश्यक अधिकांश सामग्री केन्द्रबाट पठाइसकिएको भए पनि केही सामग्री जिल्लास्तरमै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान अधिकृतलाई आवश्यक सामग्री जिम्मा लगाइने व्यवस्था गरिएको छ।
निर्वाचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि सञ्चालनमा आएको छ। उक्त कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिसहित सम्बन्धित संयन्त्रहरू सक्रिय रूपमा परिचालित छन्।
यसैबीच, फागुन ४ गतेदेखि राजनीतिक दलहरूले औपचारिक चुनावी प्रचारप्रसार सुरु गरेका छन्। प्रचारप्रसार गतिविधि प्रचलित कानुन र निर्वाचन आचारसंहिताको पालना गर्दै सभ्य, शिष्ट र मर्यादित ढंगले सञ्चालन गर्न आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिएको छ।