News Desk
धवलागिरि गाउँपालिका | म्याग्दीको दुर्गम बस्ती गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक निर्माण अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षभित्रै थप करिब चार किलोमिटर ट्रयाक खोल्ने कार्य भइरहेको छ, जससँगै गुर्जा यातायात पहुँचमा आउने भएको छ।
यसअघि विगत तीन वर्षमा गाउँपालिका, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक निर्माण भइसकेको थियो। हाल भैसीमानेदेखि पाल्टनसम्म थप करिब तीन किलोमिटर मार्ग खोलिएको छ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार अब करिब दुई किलोमिटर मार्ग खुलेपछि गुर्जा सडक सञ्जालमा जोडिनेछ। निर्माण कम्पनीको डोजर बिग्रिँदा केही ढिलाइ भए पनि काम नियमित रूपमा सञ्चालन भए एक हप्तादेखि दश दिनभित्रै सवारीसाधन गुर्जासम्म पुग्ने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्षमा एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको यस योजनाको ठेक्का लुलु कन्ट्रक्सनले ८८ लाख ८५ हजार रुपैयाँमा लिएको थियो। आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको लुलाङ–गुर्जा सडकलाई गाउँपालिकाको गौरवको प्राथमिक योजना मानिएको छ।
यसअघि गुर्जाबाट लुलाङ पुग्न भिर, जंगल र खोल्सो पार गर्दै दिनभर पैदल हिँड्नुपर्ने अवस्था थियो। हाल सवारी पुग्ने पाल्टनबाट करिब २० मिनेट पैदल यात्रा गरेपछि गुर्जा पुग्न सकिन्छ। स्थानीयवासीका अनुसार गाउँ नजिकै सडक र सवारी सुविधा पुगेपछि उत्साह र आशा बढेको छ।
सडक सञ्चालनमा आएपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिका केन्द्र मुना, पाँच घण्टामा बेनी र करिब सात घण्टामा पोखरा पुग्न सकिने भएको छ। यसले बिरामीलाई समयमै अस्पताल पुर्याउन, कृषि तथा पशुजन्य उत्पादन र जडीबुटीको बजारीकरणमा ठूलो सहजता ल्याएको छ। साथै, पर्यटकको आगमनसमेत बढ्न थालेको स्थानीयले बताएका छन्।
मार्गलाई स्तरोन्नति गर्न, घुम्ती सुधार, सडक चौडा पार्न तथा पक्की नाला निर्माणका लागि संघीय सरकारको सहरी विकास मन्त्रालयले तीन करोड र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेका छन्। साथै, दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भइरहेको छ भने काम्जाखोलामा बेलिब्रिज निर्माणका लागि स्थानीयले चन्दा संकलन अभियान सञ्चालन गरेका छन्।
अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा, म्याग्दीका स्थानीय तहमध्ये हालसम्म सडक सुविधा नपुगेको एकमात्र वडा थियो। करिब २६५ घरधुरी र एक हजार ५०५ जनसंख्या रहेको यस बस्ती अब सडक पहुँचसँगै विकासको नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।