News Desk
नेपालमा हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने देशका अन्य हिमाली तथा पहाडी भागमा आंशिक बदली देखिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज बिहान तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम अधिकांश समय सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै, यी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने बताइएको छ।
रातिको समयमा तराईका केही स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित अन्य हिमाली भागमा आंशिक बदली रहनेछ। देशका अन्य स्थानहरूमा भने मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। साथै, राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।