News Desk
गगन कुमार थापाले आफ्नो पार्टी सरकारमा पुगेपछि उच्च तहका नेताहरूको सम्पत्ति छानबिनबाटै सुरुआत गरिने बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निःवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्तिको छानबिन सबैभन्दा पहिले गरिने स्पष्ट पारे।
उनले प्रधानमन्त्री तथा मन्त्री भइसकेका व्यक्तिहरूबाटै पारदर्शिताको अभ्यास सुरु गरिनुपर्ने धारणा राख्दै आफू स्वयंको सम्पत्तिसमेत छानबिनका लागि खुला रहने बताए। सत्ता प्राप्त भएपछि जवाफदेहितालाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता थियो।
थापाले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली र प्रभावकारी आयोग गठन गर्ने योजना पनि सार्वजनिक गरे। यस्तो संयन्त्रमार्फत देशमा पुनः कसैले पनि अनियमितता गर्न नसक्ने वातावरण निर्माण गरिने उनको दाबी थियो।
त्यसैगरी, उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योग लगायतका क्षेत्रमा पाँच वर्षभित्रै उल्लेखनीय र संरचनागत परिवर्तन ल्याउने लक्ष्य कांग्रेसले अघि सारेको उल्लेख गरे। जनतामा भरोसा दिलाउने गरी काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।