News Desk
काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरहरूमध्ये पाँचौँ स्थानमा पुगेको छ। स्विजरल्याण्डस्थित वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था IQAirका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ, जुन जनस्वास्थ्यका लागि अस्वस्थकर स्तर मानिन्छ।
विश्वका प्रमुख १०० शहरमध्ये प्रदूषणको सूचीमा हनोई १६४ अंकसहित पहिलो, लाहोर १६२ अंकसहित दोस्रो स्थानमा रहेका छन्। त्यसैगरी कोलकाता र दिल्ली १६० अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा परेका छन्।
वायु प्रदूषणको प्रभावलाई ० देखि ५०० सम्मको सूचकांकमा मापन गरिन्छ। यसमध्ये २०१ देखि ३०० सम्मको एक्यूआईलाई वैजनी (पर्पल) तहमा राखिन्छ, जुन मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ। यस्तो अवस्थामा खुला ठाउँमा शारीरिक गतिविधि नगर्न र सकेसम्म घरभित्रै बस्न विज्ञहरूले सुझाव दिने गरेका छन्।
३०० भन्दा माथिको एक्यूआईलाई मरुन तहमा वर्गीकरण गरिन्छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण र घातक स्तर मानिन्छ।
वायु प्रदूषणका प्रमुख कारणहरूमा डिजेलबाट सञ्चालन हुने सवारीसाधनको धुवाँ, वनजंगलमा लाग्ने डढेलो, इँटा उद्योगको उत्सर्जन, कृषि अवशेष जलाउने प्रचलन तथा फोहोर जलाउँदा निस्कने धुवाँलाई प्रमुख रूपमा जिम्मेवार मानिएको छ। यस्तो अवस्थामा प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीतिगत तथा व्यवहारिक कदम आवश्यक रहेको विज्ञहरूको सुझाव छ।