अरबका विमानस्थलमा रोकिएका नेपालीलाई सुरक्षित राख्न सरकारको निर्णय
News Desk
Mar-02 तारिख 06:26 बिहान

काठमाडौँ : मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विभिन्न अरब देशका विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन नसकिने भएपछि सरकारले उनीहरूलाई त्यहीँ सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार मा बसेको मन्त्रिपरिषद् बैठकले हालका लागि सबै अन्तर्राष्ट्रिय उडानहरू प्रभावित र अधिकांश विमानस्थल बन्द रहेको अवस्थालाई ध्यानमा राख्दै तत्काल उद्धार वा स्थानान्तरण सम्भव नभएको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले भने, “अहिलेलाई विमानस्थलहरू सञ्चालनमा नआएकाले कसैलाई स्वदेश फर्काउन वा अर्को गन्तव्यतर्फ पठाउन सकिने अवस्था छैन। जहाँ जहाँ नेपाली नागरिक छन्, त्यहीँ उनीहरूको सुरक्षा सुनिश्चित गर्ने विषयमा छलफल र आवश्यक समन्वय भइरहेको छ।”

मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिले नेपाली कामदार तथा यात्रुहरूमा पारेको प्रभाव, कूटनीतिक पहलमार्फत उनीहरूको सुरक्षा सुनिश्चित गर्ने उपाय तथा नेपाल सरकारले लिनुपर्ने आगामी कदमबारे पनि मन्त्रिपरिषद् बैठकमा विस्तृत छलफल भएको परराष्ट्रमन्त्री शर्माले जानकारी दिए।