News Desk
जेनजी आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिमा आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान भइरहेको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने व्यवस्था गरिएको छ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेका थिए।
यसपटक प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएका छन् भने थप १४३ अस्थायी मतदानस्थल व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था पनि गरिएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएको छ। निर्वाचन सञ्चालनका लागि करिब दुई लाख १५ हजार कर्मचारी खटिएका छन्।
आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ।
यस निर्वाचनको अवलोकनका लागि चार अन्तरराष्ट्रिय तथा ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्ने भएका छन्। राष्ट्रका प्रमुख पदाधिकारीहरूले पनि नागरिकलाई उत्साहका साथ मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।